पाेखरा। पोखरामा स्कुलबस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार पोखरा महानगरपालिका-२८ स्थित शान्ति मैदानको ओख्लेमा कालिका बोर्डिङ स्कुलको बस सडकबाट करिब दुई सय मिटर तल भिरमा खस्दा चार विद्यार्थी र एक बस स्टाफको मृत्यु भएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा मृत्यु हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय शुभेच्छा तिवारी छन्। मृत्यु हुने अर्की १५ वर्षीया किशोरीको नाम र थर खुलेको छैन।
पोखरा महानगरपालिका–२८ स्थित माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको ग.२ख १४१७ नम्बरको बस दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अस्पतालले जनाएको छ। घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार घाइते हुनेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्नेहा तिवारी, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ छन्।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।












