काठमाडौं । बैतडी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार बिहान भएको जिप दुर्घटनामा जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सिगास गाउँपालिका-१ माडौँमा शनिबार बिहान सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट ७ सय मिटर तल खसेको हो।
दुर्घटनामा परेर ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती कुमारी धामी र १४ वर्षीया भागरथी धामी गम्भीर घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यस्तै जिप दुर्घटनामा हाम फालेकी सिगास गाउँपालिका-१ कै १८ वर्षीया धना कुमारी धामी पनि सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।












