काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् ।
मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए ।
२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुनसकेको छैन । भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ ।
सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिइसक्दा पनि कामले गति लिन सकेको छैन ।
अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए ।
निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उनले बताए ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए ।












