काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई अनुमोदन गरेको हो।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भ्रमण स्वीकृत भएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हुनेछ।
परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
प्रधानमन्त्रीको भ्रमणमा ३४ सदस्यीय सरकारी टोली सहभागी हुनेछ। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी रहने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।
सरकारी टोलीबाहेक निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्। निजी सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भ्रमणमा जानेछन्। यसरी प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुनेको कुल संख्या एक सयभन्दा बढी पुग्नेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू पनि भ्रमण टोलीमा थपिनेछन्।
भ्रमणको मुख्य कार्यक्रम मंसिर ७ गते हुनेछ। त्यस दिन प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुने परराष्ट्र सचिव राईले बताएका छन्।
भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी पनि छ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय भएको छ।
भारतको विदेश मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भ्रमण औपचारिक रूपमा घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय नियमित आदानप्रदानको निरन्तरताका रूपमा व्याख्या गरिएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा हुनेछ। साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचार आदानप्रदान हुनेछ।
भारतले आफ्नो ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ। व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालमा सहकार्य विस्तार भइरहेको भारतको भनाइ छ। पछिल्लो समय स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदका क्षेत्रमा समेत सहकार्य अघि बढेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको साझेदारी थप सुदृढ बनाउने र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने भारतले जनाएको छ।












