धादिङ। धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
बिहीबार राति १ः५५ बजे रुबीभ्याली गाउँपालिका–४ कलदाङमा लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भएर करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा रुबीभ्याली–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ छन्।
त्यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आमोष र चालक बोल्न नसक्ने अवस्थामा रहेको विवरण प्रहरीले दिएको छ।
घाइतेमध्ये कमल घले, विमल तामाङ र ललित बोम्जनलाई बोराङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ। बाँकी ६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको डीएसपी दाहालले बताए।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












