काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन अन्त्य गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र डा. केसीबीच शनिबार बिहान सहमति भएको हो।
सहमतिको मुख्य विषय चिकित्सा शिक्षा आयोगले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिने र सिट संख्या निर्धारण गर्ने रहेको छ। त्यस्तै नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित आर्मी मेडिकल कलेजमा एमबीबीएसका लागि थप गरिएको सिट संख्या मापदण्डअनुसार भए/नभएको छानबिन गरिने भएको छ।
यसका लागि प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिने सहमतिमा उल्लेख छ। समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ। सरकारले प्रतिवेदनका सुझाव कार्यान्वयन गरेपछि मात्रै चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइनेछ।
कार्यक्रम सञ्चालनको अनुमति दिँदा वा सिट थप गर्दा निर्धारित मापदण्ड पालना नभएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउने सहमति भएको छ।
त्यस्तै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने भएको छ। अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल सुरु गरिनेछ। यसमा डा. केसीले दिएका सुझाव समेटिने सहमति छ।
सरकारले यसअघि २०८३ साउन ११ गते डा. केसीसँग गरेको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदासमेत पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ।
सहमति कार्यान्वयनको अनुगमन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका एक सहसचिव, डा. केसीका तर्फबाट विजय थापा र डा. अमृत जैसी सहभागी कार्यदल गठन गरिनेछ। कार्यदलमा सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल पनि रहनेछन्। कार्यदलले महिनामा कम्तीमा एकपटक बैठक गर्नेछ।
यसैगरी डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक बजेट विनियोजन र पूर्वाधार विकासको काम अघि बढाउने सहमति भएको छ। बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको काम तत्काल अगाडि बढाइने पनि सहमतिमा उल्लेख छ।
सरकारसँग यी विषयमा सहमति भएपछि डा. केसीले कात्तिक २१ गतेदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका छन्।
सहमतिका मुख्य ६ बुँदा
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत कार्यक्रम सञ्चालनको अनुमति र सेनाको मेडिकल कलेजमा थपिएको सिटबारे छानबिन।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन गरी दुई साताभित्र अध्यादेश जारी गर्ने।
साउन ११ गते भएको अघिल्लो सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने।
सहमति कार्यान्वयन अनुगमन गर्न सरकारी र डा. केसी पक्षका प्रतिनिधिसहित कार्यदल गठन गर्ने।
डडेलधुरा, इलाम, उदयपुर र बर्दिबासमा मेडिकल शिक्षासम्बन्धी पूर्वाधार तथा संस्था स्थापनाको काम अघि बढाउने।
डा. केसीले कात्तिक २१ गते सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने।










