काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा दुई पाइलटसहित तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन्।
दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको छ। उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ।
दुर्घटनामा न्युजिल्यान्डका ४९ वर्षीय सेलिशकुमार पटेल तथा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्।
घाइते पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।










