काठमाडौं । मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ९ करोड ७३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आचार्यविरुद्ध ९ करोड १९ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाएको छ।
आयोगले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आचार्यले आफ्नो वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बढी खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ।
आचार्यले २०५४ माघ २ गतेदेखि सरकारी सेवामा प्रवेश गरेको र २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको आयोगले जनाएको छ। उक्त अवधिमा आचार्य र उनको एकाघरका परिवारका सदस्यको वैधानिक आम्दानी तथा खर्चको विश्लेषण गरिएको थियो।
अनुसन्धानअनुसार आचार्यको तलबभत्ता, श्रीमती ललिता राजभण्डारीको पारिश्रमिक बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, बैना रकम फिर्ता, कृषि तथा ब्याज आम्दानीलगायत स्रोतबाट कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा वैधानिक आय भएको देखिएको छ।
तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, कम्पनीमा लगानी, जग्गा खरिदका लागि बैना, विभिन्न व्यक्तिलाई दिएको ऋण, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद र बैंक ऋण भुक्तानीलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
कुल खर्च र लगानीबाट वैधानिक आय घटाउँदा स्रोत नखुलेको ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्ति देखिएको आयोगको निष्कर्ष छ। यही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा
आयोगका अनुसार आचार्यले विभिन्न व्यक्तिसँगको आर्थिक कारोबार, घरजग्गा खरिदबिक्री, कम्पनीमा लगानी तथा सेयर कारोबारलगायत माध्यमबाट आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्ति लुकाउने र वैध देखाउने कार्यसमेत गरेको आरोप छ।
आयोगले ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसा बराबरको सम्पत्तिलाई स्थापन (प्लेसमेन्ट), तहकरण (लेयरिङ) र एकीकरण (इन्टिग्रेसन) प्रक्रियामार्फत कारोबार गरिएको जनाएको छ। यससम्बन्धी कसुरमा ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कारबाहीको मागदाबी गरिएको छ।
अनुसन्धानमा काठमाडौं महानगरपालिका–१० र ३५, गोठाटार, मोरङको विराटनगर तथा टंकीसिनवारी क्षेत्रका जग्गा कारोबार, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा गरिएको भुक्तानी र विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेनसमेत समेटिएको आयोगले जनाएको छ।
परिवारका सदस्यसहित अन्य व्यक्ति पनि प्रतिवादी
आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई मतियारका रूपमा प्रतिवादी बनाएको छ। उनकी छोरी निलु आचार्य र सरू आचार्यलाई भने गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।
त्यस्तै, प्रभा बस्नेत र कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा बिगो कायम गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाहीको माग गरिएको छ।
आचार्य र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा जनही सोही कसुरको बिगो ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा कायम गरी कानुनबमोजिम सजाय तथा सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ।
आयोगले गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार सजाय गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।










