काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय खोप साझेदार संस्था ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।
साथै, गाभीबाट प्राप्त सहायता रकमको लेखापरीक्षणका क्रममा फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा गाभीसँगको संवादपछि नेपालले सहायता सुनिश्चित गर्नुका साथै उक्त रकम मिनाहा गराउन सफल भएको हो।
गाभिबाट प्राप्त हुने सहायता रकमले नेपालको राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनमा वित्तीय सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न सञ्चालन हुँदै आएका खोप सेवाको निरन्तरतामा सहयोग पुर्याउनेछ।
यसैगरी, आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको सहायता रकमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर मिनाहा भएको हो। यसबाट खोप कार्यक्रमसँग सम्बन्धित वित्तीय दायित्वको भार कम हुने अपेक्षा गरिएको छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा अन्य लक्षित समूहलाई विभिन्न संक्रामक रोगविरुद्ध नियमित खोप सेवा प्रदान गर्दै आएको छ। खोप सेवाको पहुँच, निरन्तरता र प्रभावकारिता कायम राख्न सरकारको बजेटसँगै अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहायता पनि महत्वपूर्ण रहँदै आएको छ।










