काठमाडौं। मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव भेटिएको छ। योसँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार सोमबार खोज तथा उद्धारका क्रममा हिमपहिरो प्रभावित क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो।
यसअघि आइतबार नै छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव सोमबार पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ।
आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिमपहिरो जाँदा त्यहाँ रहेका १४ जना सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा दुई जनाको शव आइतबार र थप दुई जनाको शव सोमबार भेटिएको हो।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा पर्यटक कम्पनीमार्फत बेसक्याम्प निर्माणका लागि पुगेका २७ जना कामदार हिमपहिरोमा परेका थिए।
उनीहरूमध्ये ११ जना आइतबार नै सकुशल सदरमुकाम फर्किएका थिए। चार जनाको शव भेटिएपछि बाँकी १२ जनाको अवस्था अझै अज्ञात रहेको पौडेलले जानकारी दिए।
हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेकाले बेपत्ता कामदारको अवस्थाबारे थप विवरण आउन बाँकी छ।












