काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका विभिन्न १० स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण केही स्थानमा सडक भासिनुका साथै चर्किएको र भत्किएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार शीलतबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दी खोला–जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारा क्षेत्रमा पहिरो तथा सडकमा क्षति पुगेको छ।
कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकको तल्लो भाग भने यथावत रहेको र पहिरोको जोखिमयुक्त भागलाई प्लास्टिकले छोपिएको योजनाले जनाएको छ।
त्यस्तै, ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध छ।
फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडक ठूलो ढुंगा, लेदो र रुखसहितको पहिरोले पुरिएको छ। त्यहाँ सडकको केही भाग करिब ३० मिटर क्षेत्रमा चर्किएको तथा दबिएको छ।
धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। अन्य केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि निरन्तरको वर्षाका कारण थप पहिरो तथा सडक भासिने जोखिम कायमै रहेको जनाइएको छ।
वर्षा रोकिएपछि प्रभावित सबै स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी सडक खुलाउने तयारी गरिएको योजनाले जनाएको छ। तर तत्काल सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
योजनाका अनुसार आइतबार पनि मलेखु–मुग्लिङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्ड हुँदै यात्रा नगर्न आग्रह गरिएको छ।












