काठमाडौं। बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले बताए।
पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो। घटनास्थलबाट तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्य जारी रहेको छ।
यस्तै, पाल्पामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
माथागढी गाउँपालिका–२ रुप्से रजौलीमा पहिरोमा परी ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङमा पहिरोमा परी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुवै जनाको शव पहिरोबाट निकालिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
यसैबीच, माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिएको छ। घर पुरिँदा घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको र घटनास्थलमा खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।












