काठमाडौं। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्रको प्रभावसँगै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी दुई दिन देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गहिरो न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेको छ।
यो प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ।
कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेश तथा कोशीको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
बिहीबार राति पनि देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा मधेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
शुक्रबार पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यस अवधिमा मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।












