काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीका कारण स्थगित गरिएका पार्टीका संगठनात्मक तथा जनसम्पर्कका कार्यक्रमहरू तत्काल अघि बढाउने निर्णय गरेको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले भोटेकोशी विपद्पछिको खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामको समीक्षा गर्दै रोकिएका पार्टी गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत स्थगित संगठनात्मक र जनसम्पर्कका कार्यक्रम अविलम्ब अघि बढाउने निर्णय गरेको रास्वपाले जनाएको छ।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेका व्यक्तिको शीघ्र डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो अघि बढाउनसमेत सरकारसँग माग गरेको छ।
पीडित परिवारलाई राहत तथा राज्यबाट प्राप्त हुने सुविधा उपलब्ध गराउन आवश्यक प्रक्रिया प्रभावकारी बनाउनुपर्ने रास्वपाको भनाइ छ।
महासभामा नेपालको विपद् र राजनीतिक परिस्थिति उठाउने
बैठकले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक विषय उठाउन नीतिगत निर्देशन दिएको छ।
बदलिँदो राजनीतिक परिस्थिति, नेपालको समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकालगायत विषयमा नेपालको धारणा प्रस्तुत गर्नसमेत बैठकले निर्देशन दिएको रास्वपाले जनाएको छ।
मधेश प्रदेशको कार्यसम्पादन अडिट
बैठकमा मधेश प्रदेशको सांगठनिक अवस्था र कार्यसम्पादन अडिटबारे प्रारम्भिक प्रतिवेदन प्रस्तुत भएको छ। संयोजक तथा सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
विस्तृत प्रतिवेदन प्राप्त भएपछि मधेश प्रदेशको संगठन सुदृढीकरणका लागि थप रणनीतिक कदम चालिने रास्वपाले जनाएको छ।
विभिन्न विभागमा नयाँ जिम्मेवारी
बैठकले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिन १० जनालाई सदस्यमा मनोनयन गरेको छ। आयोगका सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई नियुक्त गरिएको छ।
त्यस्तै, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र विकमत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ।
बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे जानकारी दिए
बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिबारे सचिवालयलाई जानकारी गराएका थिए।
रास्वपाले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा भएका आर्थिक तथा कूटनीतिक पहलका विषयमा बैठकमा छलफल भएको जनाएको छ।












