काठमाडौँ । काठमाडौँ महानगरपालिका-३१ आलोकनगरमा अस्पतालजन्य फोहोर फ्याक्ने औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसरी फालिएको फोहरमा २ वटा कम्पनीको नाम लेखिएका कागज पाइएका थिए। यी कम्पनीमध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा छ। यी स्थानहरु काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरी बलले फोहोर मैला व्यवस्थापन ऐन २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिमको कसुर गर्नेलाई काठमाडौँ महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।
यही अनुरोध पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको कम्पनीका अधिकारी सम्पर्कमा आइसकेका छैनन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र प्रहरी बलको संयुक्त टोलीले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी थालेको छ। यस क्रममा भेटिने व्यक्तिहरुलाई तत्काल जरिवाना गराउने गरिएको छ ।
यस्तै सडक, किनारा तथा सार्वजनिक स्थलमा फालेको फोहोरमा प्रमाण खोजेर जथाभावी फोहोर निकाल्नेलाई कारवाही गर्न थालिएको छ । प्रारम्भमा कारवाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने तर सोही प्रकृतिको कसुर दोहोरिए नाम ठेगाना सार्वजनिक गरिने योजनामा रहेको जोशीको भनाइ छ ।












