काठमाडौं। सरकारले न्याय सेवाका तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, न्याय समूहका ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यसअघि बर बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका सहरजिस्ट्रार कट्टेल र दाहाललाई रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको थियो। आयोगले न्याय परिषद्का कायममुकायम सचिव भट्टराईलाई पनि सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
पराजुली हाल राष्ट्रिय महिला आयोगमा कार्यरत छन्। सरकारी सेवाका विभिन्न समूहका सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।












