काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका इजलासहरूमा न्यायाधीशको जिम्मेवारी हेरफेर गर्दै तीन जनाको सरुवा र चार जनालाई काजमा खटाउन सिफारिस गरेको छ।
मंगलबार बसेको परिषद् बैठकले नवनियुक्त तीन न्यायाधीशको पदस्थापनसमेत सिफारिस गरेको छ।
परिषद्को सिफारिसअनुसार उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास र उच्च अदालत जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलासमा सरुवा गरिने भएको छ। वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ।
त्यस्तै, इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काजमा खटाउन सिफारिस गरिएको छ। वीरगन्ज इजलासका गोकर्ण डाँगी तथा अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा खटाउने र नेपालगन्ज इजलासकी सकुन्तला घिमिरेलाई जुम्ला इजलासमा काजमा पठाउने सिफारिस भएको छ।
नयाँ तीन न्यायाधीशको पदस्थापन
परिषद्ले नवनियुक्त तीन न्यायाधीशको पदस्थापन पनि सिफारिस गरेको छ। भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरेको छ।












