काठमाडौं। काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका बाहिरी जिल्लाका दम्पतीले अब काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न नपाउने भएका छन्।
जिल्ला अदालत काठमाडौंले गत वैशाखदेखि स्थायी ठेगाना काठमाडौं बाहिर भएका व्यक्तिलाई सम्बन्धित गृहजिल्लामै मुद्दा दर्ता गर्न पठाउन थालेको हो।
अन्तरजिल्ला मुद्दामा म्याद तामेलीमा समस्या हुने, प्रतिवादीले मुद्दाको जानकारी नपाउने तथा तारेखका लागि पटक–पटक काठमाडौं आउनुपर्ने अवस्था देखिएपछि यस्तो अभ्यास सुरु गरिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।
मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ र ९६ ले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित जिल्ला अदालतमा दिनुपर्ने व्यवस्था गरेको उनले बताए। उनका अनुसार सम्बन्धित जिल्ला भन्नाले पति–पत्नीको स्थायी ठेगाना रहेको जिल्ला अदालत बुझिन्छ।
काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै दर्ता हुँदै आएका थिए। गत वर्ष औसत दैनिक १४ वटा यस्ता मुद्दा दर्ता हुने गरेका थिए। बाहिरी जिल्लाका मुद्दा गृहजिल्लामै पठाउन थालेपछि काठमाडौं अदालतको चाप घट्ने अपेक्षा गरिएको छ।
तर, दुवैजना काठमाडौंमा अस्थायी रूपमा बस्दै आएका दम्पतीका लागि भने निर्णयले न्यायमा पहुँचको नयाँ समस्या सिर्जना गर्न सक्ने देखिएको छ। सम्बन्धविच्छेदकै लागि गृहजिल्ला पुग्नुपर्ने र पटक–पटक तारेख धाउनुपर्ने बाध्यता उनीहरूलाई हुनेछ।
काठमाडौं जिल्ला अदालतले महोत्तरीका पति-पत्नीबीचको सम्बन्धविच्छेद मुद्दासमेत क्षेत्राधिकार नभएको भन्दै गत २० साउनमा खारेज गरेको थियो। अदालतले अन्य जिल्लाका पक्षबीचको सम्बन्धविच्छेद काठमाडौंमा सुनुवाइ गर्दा प्राकृतिक न्याय र पक्षको पहुँचमा समेत समस्या आउन सक्ने निष्कर्ष निकालेको छ।












