काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन्।
जेन्जी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सन्देश जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका हुन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका र मानसिक तथा शारीरिक चोट भोगेकाहरूप्रति सम्मान व्यक्त गर्दै राज्यले प्रभावित परिवारको उचित हेरचाह, घाइतेको पूर्ण उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्ने बताएका छन्।
लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको दाबी गरेका छन्। त्यसैले कुनै पनि राजनीतिक दल वा नेताले आन्दोलनलाई आफ्नो सङ्कुचित राजनीतिक स्वार्थ पूरा गर्ने औजार बनाउन नहुने उनको भनाइ छ।
‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो, त्यो परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति पत्र थियो,’ उनले भनेका छन्।
उनले जेन्जी पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता भएको उल्लेख गर्दै अब युवालाई कुशासन स्वीकार्य नभएको बताएका छन्।
लामिछानेले रास्वपा र आफूलाई पनि निरन्तर खबरदारी र निर्मम समीक्षाको दायरामा राख्न आग्रह गरेका छन्। ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्।
उनले नागरिक समाज, युवा तथा आम नागरिकलाई रचनात्मक खबरदारी निरन्तर राख्न आग्रह गर्दै निराशाको भाष्य स्थापित हुन नदिन पनि अपिल गरेका छन्। ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ लामिछानेले भनेका छन्।












