काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढी र पहिरोका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र २० जना पहिचान नखुलेका व्यक्ति छन्।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ।
त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको छ। गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ। तनहुँमा ३ पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ।
नवलपरासी पूर्वमा भने ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
६३ जना उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन्।
त्यस्तै, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
२८ प्रहरी सम्पर्कविहीन
बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट ८ जना, स्याफ्रुबेँसीबाट ३ जना, मैलुङबाट ५ जना तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।












