हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रतिपक्षी दलहरूको बहिष्कारबीच प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। १०४ सदस्यीय प्रदेशसभामा मंगलबारको बैठकमा उपस्थित ५७ सांसदमध्ये सबैले उनको पक्षमा मतदान गरे।
कांग्रेससहितका प्रतिपक्षी दलले मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले भदौ १० गतेको सुनुवाइअघि विश्वासको मत लिन नमिल्ने भन्दै बैठक बहिष्कार गरेका थिए। उनीहरूले प्रक्रियालाई असंवैधानिक र संसदीय मर्यादाविपरीत भएको आरोप लगाएका छन्।
राप्रपाले पनि पार्टीबाट कारबाहीमा परेका सांसदको समर्थनलाई मान्यता दिइएको भन्दै उपसभामुख अप्सरा चापागाईंको भूमिकामाथि प्रश्न उठाएको छ।
मुख्यमन्त्री थापाले भने प्रदेशसभा सचिवालयले विधिसम्मत रूपमा बैठक बोलाएको र आफूले आवश्यक बहुमत प्राप्त गरेकाले विश्वासको मत संवैधानिक भएको दाबी गरेका छन्। प्रतिपक्षीको अनुपस्थितिलाई उनले ‘मौन सहमति’ का रूपमा बुझेको बताएका छन्।












