एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा लाग्दै आएको कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने धम्की दिएका छन्।
ट्रम्पले सोमबार क्यानडाको अटो क्षेत्रमा लाग्ने कर दोब्बर बनाउने चेतावनी दिएका हुन्। उनका अनुसार नयाँ कर आगामी जनवरी १ देखि लागू हुनेछ।
अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढिरहेका बेला ट्रम्पको पछिल्लो धम्की आएको हो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो करसम्बन्धी चेतावनीलाई अप्रत्याशित नभएको बताएका छन्। उनले ट्रम्पले क्यानडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरिरहेको आरोप लगाए। कार्नीले भने, ‘यदि अमेरिका सही दृष्टिकोणसहित वार्ताको टेबलमा फर्किन्छ भने क्यानडा पनि वार्ता पुनः सुरु गर्न तयार छ।’
यसअघि भएको वार्ताका क्रममा अमेरिकाले अन्तिम चरणमा राखेका केही माग स्वीकार गर्न नसकिने खालका रहेको क्यानडाका अधिकारीहरूले बताएका छन्। ती मागमध्ये क्यानडाले कुन-कुन देशसँग व्यापार सम्झौता गर्न पाउने भन्ने विषयमा सीमा निर्धारण गर्ने प्रावधानसमेत रहेको बताइएको छ।
यता अमेरिकी अधिकारीहरूले भने वार्ता अघि बढ्न नसक्नुमा क्यानडालाई नै जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानडाले वार्ताका क्रममा थप मागहरू राखेको बताएका छन्।












