काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट भइरहेको छ।
रोयटर्स र इप्सोसको पछिल्लो सर्भे अनुसार, ट्रम्पको अप्रूभल रेटिङ (अनुमोदन दर) घटेर ३३ प्रतिशतमा झरेको छ, जुन उनको वर्तमान कार्यकालकै सबैभन्दा तल्लो विन्दु हो।
सर्भेमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि (अस्वीकार) जनाएका छन् भने केवल ३३ प्रतिशत मानिसले मात्र उनको कामलाई समर्थन गरेका छन्।
यसै महिनाको सुरुवातमा भएको सर्भेमा ट्रम्पको अप्रूभल रेटिङ ३५ प्रतिशत रहेको थियो।
सर्भेका अनुसार, ट्रम्पको हालको अप्रूभल रेटिङ उनको अघिल्लो पहिलो कार्यकालको सबैभन्दा तल्लो विन्दु बराबर पुगेको छ। यसअघिको पहिलो कार्यकालमा डिसेम्बर २०१७ मा पनि उनको अप्रूभल रेटिङ ३३ प्रतिशत नै दर्ता गरिएको थियो।
यसैगरी सर्भेमा इरान युद्धलाई लिएर पनि अमेरिकी नागरिकहरूको चिन्ता सार्वजनिक भएको छ। करिब ८० प्रतिशत मानिसले अमेरिका र इरानबीचको युद्ध लम्बिन सक्ने आशंका व्यक्त गरेका छन्।












