काठमाडौं। बजारमा नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको सूचना बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। विभागले हालसम्म करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएर परीक्षण प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको गुणस्तर र मौलिकता पुष्टि गर्न प्रयोगशालामा परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदन आएपछि सम्बन्धित उत्पादन र व्यवसायीविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिनेछ।
विभागका महानिर्देशक मोति सापकोटाले बजारमा अझै केही नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले नियमित अनुगमनलाई थप प्रभावकारी बनाइएको बताए। उनले प्रयोगशाला परीक्षणको नतिजाका आधारमा दोषी ठहरिएका उत्पादनमाथि कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
विभागले उपभोक्तालाई पनि सतर्क रहन आग्रह गर्दै शंकास्पद वा नक्कली जस्तो देखिने उत्पादन भेटिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ। विभागका अनुसार उपभोक्ताको सूचनाले बजारमा गुणस्तरहीन तथा नक्कली वस्तुको कारोबार नियन्त्रण गर्न सहयोग पुग्नेछ।












