काठमाडौं। सरकारले मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रसूति बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने तयारी गरेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानुन संशोधनमार्फत यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
प्रस्तावित संशोधनअनुसार मूल ऐनको दफा १३ को उपदफा (१) मा रहेको कम्तीमा ९८ दिन भन्ने व्यवस्था हटाएर ६ महिना कायम गर्न प्रस्ताव छ। यो व्यवस्था लागू भएमा कामकाजी महिलाले हालको भन्दा झण्डै दोब्बर समय प्रसूति बिदा पाउनेछन्।
सरकारका अनुसार यसले सुत्केरी अवस्थाका आमाको स्वास्थ्य सुधार, नवजात शिशुको हेरचाह र पहिलो ६ महिनासम्मको पूर्ण स्तनपानलाई प्रोत्साहन गर्नेछ। विश्व स्वास्थ्य संगठनले पनि शिशुलाई पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गर्दै आएको सन्दर्भमा कानुनी व्यवस्था त्यसअनुकूल बनाउन खोजिएको हो।
संशोधन प्रस्तावले प्रसूति बिदामात्र होइन, मातृ स्वास्थ्यसँग जोडिएका अन्य अधिकारसमेत विस्तार गरेको छ। अब सरकारले तोकेको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले सम्मानजनक प्रसूति सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ भने प्रसूति सेवा दिने संस्थामा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मी अनिवार्य राख्नुपर्ने प्रावधान पनि थपिएको छ।
त्यस्तै, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने नयाँ दफा थपिएको छ। यसले गर्भवती तथा सुत्केरी महिलाको अधिकारलाई थप कानुनी संरक्षण दिने अपेक्षा गरिएको छ।
गर्भपतनसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गरिएको छ। कानुनबमोजिम इजाजत प्राप्त तथा सूचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट प्रदान गरिने सेवालाई स्पष्ट रूपमा गर्भपतन सेवाको परिभाषाभित्र समेटिएको छ। साथै, गर्भपतनसम्बन्धी केही व्यवस्थामा रहेको २८ हप्तासम्मको गर्भ भन्ने सीमालाई हटाएर जुनसुकै अवधिको गर्भ भन्ने शब्दावली राख्ने प्रस्ताव गरिएको छ। जसले कानुनी व्यवस्थालाई थप स्पष्ट र समसामयिक बनाउने सरकारको उद्देश्य देखिन्छ।












