काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा दुई हजार ७७९ महिलामध्ये ९० जनामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) डीएनए परीक्षण पोजेटिभ देखिएको छ।
यस्तै, स्तन क्यान्सर परीक्षणका क्रममा २ जनामा स्तन क्यान्सर पुष्टि भएको छ।
महानगरले गत चैत १६ देखि वैशाख २१ गतेसम्म सञ्चालन गरेको शिविरमा ३ हजार ४९४ महिलाले नाम दर्ता गरेका थिए। तीमध्ये २ हजार ९७५ जना परीक्षणका लागि अस्पताल पुगेका थिए।
प्रयोगशाला परीक्षणअनुसार १२ जनामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ र ६५ जनामा अन्य प्रकारका एचपीभी संक्रमण देखिएको हो। एचपीभी पोजेटिभ हुनु क्यान्सर भएको होइन, भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने जोखिम रहेको संकेत मात्र भएको चिकित्सकहरूले बताएका छन्।
कार्यक्रमअन्तर्गत २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। ४११ जनाको मेमोग्राम, ४९४ जनाको स्तनको भिडियो एक्स–रे तथा ४ जनाको बायोप्सी गर्नुपर्ने अवस्था देखिएको थियो। बायोप्सी गरिएकामध्ये एक जना सम्पर्कमा नआए पनि दुई जनामा स्तन क्यान्सर पुष्टि भई उपचार भइरहेको छ भने एक जनामा क्यान्सर नभई मासु पलाएको पाइएको छ।
यस्तै, ११ जनामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था मानिने सर्भाइकल इन्ट्राएपिथेलियल नियोप्लासिया देखिएको छ। तीमध्ये ४ जनामा उच्च जोखिम (हाइ ग्रेड) र ७ जनामा कम जोखिम (लो ग्रेड) रहेको महानगरले जनाएको छ। थप दुई जनाको सर्भाइकल पोलिपेक्टोमी (पाठेघरको मुखमा पलाएको मासु काट्ने) गरिएको छ।
वडागत विवरणअनुसार वडा नम्बर २२ मा सबैभन्दा धेरै ११ जना महिलामा एचपीभी संक्रमण पुष्टि भएको छ। वडा नम्बर १६ मा ९ जना, वडा नम्बर १४ र १९ मा समान ७–७ जना तथा वडा नम्बर ७ मा ६ जनामा संक्रमण देखिएको छ। वडा नम्बर २, १२, १७, १८, २० र २१ का परीक्षण गराएका महिलामा भने एचपीभी संक्रमण फेला परेको छैन।
महानगरले ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई हरेक पाँच वर्षमा कम्तीमा एकपटक पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन आग्रह गरेको छ। चिकित्सकका अनुसार एचपीभी संक्रमण लामो समयसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्न सक्छ।
त्यस्तै, स्तनमा गाँठागुँठी देखिनु, स्तनको आकार वा छालामा असामान्य परिवर्तन आउनु, निप्पल भित्र धसिनु वा स्तनबाट असामान्य तरल पदार्थ बग्नुजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।












