काठमाडौं। सरकारले अटिजम भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा नमुना विद्यालय स्थापना गर्ने योजनालाई कार्यान्वयनको चरणमा अघि बढाएको छ। यसका लागि तयार गरिएको अवधारणापत्रसहितको प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई बिहीबार हस्तान्तरण गरिएको छ।
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा गठित ६ सदस्यीय प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार पारेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो। प्रतिवेदनमा एक संघीय अटिजम अनुसन्धान केन्द्र र सातै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय वा सेवा केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले सरकारले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ नमुना विद्यालय स्थापना गर्न लागेको बताउँदै प्रतिवेदनलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।
समितिका संयोजक रोशन श्रेष्ठका अनुसार अवधारणापत्रमा अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक स्क्रिनिङ, विशेष सिकाइ, थेरापी, व्यावसायिक सीप विकास, समावेशी विद्यालयमा समायोजन तथा समाजमा पुनःएकीकरणसम्मका सेवाको स्पष्ट खाका समेटिएको छ। साथै, विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, सेवा मापदण्ड र व्यवस्थापन प्रणालीसमेत प्रस्ताव गरिएको छ।
सरकारले २०८२ चैत १९ गते विश्व अटिजम सचेतना दिवसका अवसरमा सातै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको थियो। अहिले बुझाइएको प्रतिवेदन सोही घोषणाको कार्यान्वयनका लागि तयार पारिएको हो।
पूर्वाधार निर्माणका लागि प्रत्येक प्रदेशमा २८ करोड लागत अनुमान गरिएको छ। आगामी आर्थिक वर्ष २०८३र८४ का लागि पूर्वाधार निर्माणतर्फ प्रत्येक प्रदेशमा ३ करोडका दरले कुल २१ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। शैक्षिक कार्यक्रम भने चालु आर्थिक वर्षदेखि नै सुरु गरिने तयारी छ।
यससँगै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा अटिजम सेवासम्बन्धी राष्ट्रिय मापदण्ड पनि तयार गरिएको छ। मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार यसले हाल निजी क्षेत्र र विभिन्न संघसंस्थाले सञ्चालन गरिरहेका अटिजम केन्द्रहरूको नियमन, सेवा गुणस्तर र व्यवस्थापनका लागि साझा आधार तयार गर्नेछ।
सरकारको यो पहलले अटिजम भएका बालबालिकालाई गुणस्तरीय, समावेशी र पहुँचयोग्य शिक्षा तथा विशेष सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।












