काठमाडौं। नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता र ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी प्रतिवेदनको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई प्रहरीले उनीहरूलाई यही असार २४ गते विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, नेपाल बाल संगठन, जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य र काठमाडौंका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।
बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको सम्बन्धमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ।












