काठमाडौं। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि आयोगले यो कार्यविधि पास गरेको हो। यस निर्णयसँगै चिकित्सा शिक्षा क्षेत्रमा विगतदेखि रहँदै आएको कानुनी अस्पष्टता र समस्याको दीर्घकालीन समाधान भएको बताइएको छ।
विगतमा विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधिहरू स्वतः अमान्य (खारेज) भएपछि यस क्षेत्रमा कानुनी रिक्तता सिर्जना भएको थियो।
उक्त समस्या समाधानका लागि नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएको थियो। सोही संशोधक व्यवस्थाले आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खोलेको हो। कार्यविधि स्वीकृतिका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो।
विद्यार्थी र शिक्षण संस्थालाई के हुन्छ फाइदा?
प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ कार्यविधि जारी भएसँगै अब सार्वजनिक शिक्षण संस्थाहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थाहरूलाई सबै तह (स्नातक र स्नातकोत्तर तहका डीएम, एमसीएचसमेत०) मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत आयोगको तर्फबाट अनुदान वितरण गर्न सहज हुनेछ।












