काठमाडौं। आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सले आफ्नो टोलीको मेरुदण्ड मानिने सात खेलाडीलाई यथावत (रिटेन) राखेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै क्लबले मार्की खेलाडी सोमपाल कामीको कप्तानीमा पुराना खेलाडीहरूलाई निरन्तरता दिएको जानकारी दिएको हो।
कर्णालीले रिटेन गरेका खेलाडीहरूमा कप्तान सोमपाल कामी, अलराउन्डर गुल्सन झा, तीव्र गतिका बलर नन्दन यादव तथा खेलाडीहरु पवन सर्राफ, दिपक डुम्रे, युवराज खत्री तथा युनिषविक्रम सिंह ठकुरी छन्।
तर, अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्री रिलिज भएका छन्।
निर्देशक ज्ञानेन्द्र मल्लले नियमको बाध्यताले गर्दा केही खेलाडीलाई रिलिज गर्नुपरेको बताए।
एनपीएलको नियम अनुसार एउटा टोलीले अधिकतम सात खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ। सोही नियमलाई टेकेर कर्णालीले आफ्नो कोर टिम सुरक्षित गरेको हो। बाँकी आवश्यक खेलाडीहरू भने अब हुने अक्सन (लिलामी) बाट छनोट गरिने क्लबले जनाएको छ।












