काठमाडौं। काठमाडौं महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ।
महानगरपालिका ६ मा सञ्चालित सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो। यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका छन्। सहकारीका उपाध्यक्ष रविन लामाका अनुसार केही बचतकर्ता फिर्ता लिन भोलि पनि आग्रह गरिएको छ।
सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ।
सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपैयाँ र धेरै बचत गर्नेले ८० लाख रुपैयाँसम्म रकम जम्मा गरेको लामाको भनाइ छ ।
सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । विभागका प्रमुख ध्रुवकुमार काफ्ले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबी सहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बिच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ । संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाउँछौँ ।’
यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ । वडा अध्यक्षलाई सम्बोधन गरेर निवेदन दिएपछि वडा महिला सञ्जालबाट छलफल र मेलमिलापको प्रक्रिया थालनी हुन्छ । सहकारीको चेक बाउन्स वा ऋणीको चेक बाउन्सका हकमा म्याद भित्र निवेदन प्राप्त हुन आए कारवाहीका विभागले शिफारिस गर्ने काफ्लेले जानकारी दिए।
काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् । १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन्।












