काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा पछिल्लो २४ घण्टामा १ हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन्।
आइतबार बिहानसम्म गरिएको उक्त कारबाहीबाट कुल ४ लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई सडकका विभिन्न खण्डमा गुडिरहेकै अवस्थामा र विशेष नाकामा जाँच गरी कारबाही गरिएको हो।
प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी अन्य विविध कसुरका ८९१ जना छन्। नियम विपरीत सञ्चालन गरिएका राइड सेयरिङका १९२ र रातोबत्ती उल्लंघन गर्ने १८३ जना चालक कारबाहीमा परेका छन्।
त्यसैगरी, हर्न निषेध गरिएको क्षेत्रमा हर्न बजाउने १४९, तीव्र गतिमा सवारी चलाउने १२६ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। एकतर्फी (वानवे) मार्गमा सवारी गुडाउने ७७, फुटपाथमा सवारी चलाउने वा पार्किङ गर्ने ७५ र लेन अनुशासन उल्लंघन गर्ने ४१ जना पनि कारबाहीको दायरामा आएका छन्।
शंका लागे १०३ वा १०० मा फोन गर्न आग्रह
मादक वा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु कानुनविपरीत र गम्भीर दण्डनीय अपराध भएको भन्दै ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारीका यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यात्राका क्रममा चालकले मापसे वा लागुपदार्थ सेवन गरेको थोरै पनि शङ्का लागेमा यात्रुहरूले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको आकस्मिक नम्बर १०० मा फोन गरेर जानकारी दिन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपिल गरेको छ।












