काठमाडौं। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन्।
७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कान्स पुगेकी डंगोललाई मेयर डेभिडले सिटी हलमा स्वागत गरेकी थिइन्। कार्यक्रममा डंगोल नेवार समुदायका महिलाहरूको परम्परागत पोशाक ‘हाकुपटासी’ लगाएर काठमाडौंको सांस्कृतिक पहिचानसहित सहभागी भइन्।
भेटका क्रममा चलचित्र विधामा आधारित ‘क्रिएटिभ सिटी’ हरूले सञ्चालन गरिरहेका कार्यक्रम तथा आगामी योजनाबारे छलफल भएको थियो। सो अवसरमा कार्यवाहक मेयर डंगोलले मेयर डेभिडलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन औपचारिक निमन्त्रणा दिइन्।
मेयर डेभिडले काठमाडौं फिल्म फेस्टिभलको सफलताका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए।
कुराकानीका क्रममा चलचित्रमार्फत गीत, संगीत, साहित्य, फेसन र खानाजस्ता कला तथा संस्कृतिलाई उद्योगका रूपमा विकास गर्दाका अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय समुदाय, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता तथा आपसी सीप र सहकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ।
उक्त भेटमा मोरक्कोको दक्षिण केन्द्रस्थित ओउरजाजाते नगरका मेयर सैद अफ्रोख को पनि सहभागिता रहेको थियो।
कान्स र काठमाडौं दुवै युनेस्को को ‘क्रिएटिभ सिटी’ नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य नगर हुन्।












