काठमाडौँ। काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त मंगलवारबाट संयुक्त रुपमा वडा नम्बर ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखिएको छ। यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेका छन्।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी छन्।
‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ। सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ,’ उनले प्रतिक्रिया दिइन्।












