काठमाडौं। नेपालले घरेलु मैदान त्रिभुवन विश्वविद्यालय, क्रिकेट मैदानमा शुक्रबार यूएईलाई पराजित गर्दै आइसीसी विश्वकप लिग–२ मा दोस्रो जित दर्ता गरेको छ।
सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डिएलएस मेथडमा ६ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले जित निकालेको हो।
पहिले ब्याटिंग गरेको नेपालले २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाले खेल प्रभावित भएपछि युएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पायो। तर, उसले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।
मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाएका थिए। युएईलाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे।
त्यसअघि नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए। ओपनर विनोद भण्डारीले ५६ रन बनाए।
सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार ओमानविरुद्ध फेरि खेल्नेछ।












