काठमाडौं। सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपिडी सेवा नहुँदा बिरामीले सास्ती खेप्नुपरेको भन्दै पूर्वस्वास्थ्यमन्त्री प्रदिप पौडेलले सेवा विस्तार गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले पछिल्लो समय बिदाको दिन सरकारी अस्पतालमा ओपिडी सेवा बन्द हुँदा सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच खुम्चिएको र बिरामीलाई निजी अस्पताल धाउन बाध्य बनाएको बताएका छन्। यसले नागरिकमाथि थप आर्थिक बोझ परेको उनको भनाइ छ।
पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा सार्वजनिक बिदामा समेत सेवा निरन्तरता दिने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहनसहित काम गराउने व्यवस्था अघि बढाइएको स्मरण गराए। साथै, सरकारी अस्पतालमा बढ्दो भीड व्यवस्थापन गर्न ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्न र सेवा समय बढाउने सुधार पनि सुरु गरिएको उनले बताए।
त्यसैगरी, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन थालिएको र अस्पतालमा जनशक्ति अभाव हटाउन पहिलो चरणमा २५०० नयाँ कर्मचारी थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइएको उनले उल्लेख गरे।
उनले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले नागरिकलाई सेवाबाट वञ्चित गर्नेभन्दा सेवा विस्तार गर्नुपर्नेमा जोड दिए। सरकारी र निजी दुवै क्षेत्रको सहकार्यमार्फत मात्र स्वास्थ्य प्रणालीलाई नागरिकमैत्री बनाउन सकिने उनको भनाइ छ।












