काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनहरूमा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम चैत २३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रभावित नहुने गरी व्यवस्थापन गर्न भनिएको हो।
विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार र जनशक्ति मूल्याङ्कन गर्दै आइतबारका दिन पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ। यसका लागि कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने गरी मिलान गर्नुपर्नेछ। यदि त्यसो गर्न सम्भव नभएमा सट्टा बिदाको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
यस्तै, प्रदेश अस्पतालहरूमा पनि सोहीअनुसारको व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्यसम्बन्धी हेर्ने मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।












