काठमाडौं। बिहीबार १६५ वटै निर्वाचन क्षेत्रमा मतदान भएको छ। तर, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अनुमान भने फेल खाएको छ।
भण्डारीले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मतदाताको संख्या र मत प्रतिशत बढ्ने आकलन गरिएको बताएका थिए।
तर, यसपटक अघिल्लो ०७९ भन्दा कम मत खसेको छ। ०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो। तर, यसपटक झनै घटेको हो। ‘देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान छ। यद्यपि, विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी रहेको छ,’ उनले भने।
यसपटक चुनावमा होली, नारी दिवस लगायत गरी एक साता लामो विदा हुनुका साथै युवामा चुनावप्रति आकर्षण बढेको आकलन थियो। तर, मतदाता आफ्नो जिल्ला गए पनि मतदान गर्न चासो नदिएको देखिन्छ।
निर्वाचन आयोगका अनुसार ०७९ को निर्वाचनमा ६१.६३ प्रतिशत मत खसेको थियो। ०७४ मा ६८.६७ प्रतिशत मत खसेका थियो। ०७० मा ७८.३४ प्रतिशत मत खसेको थियो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मत खसेको थियो
यसपटक १ करोड ९० लाख मतदाता थिए। निर्वाचनमा १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकतर्फबाट ११० जना चुनिन्छन्। प्रतिनिधिसभामा २७५ जनासदस्य निर्वाचित हुनेछन्।
प्रत्यक्ष निर्वाचित हुने १६५ सिटका लागि ३ हजार ४०६ उम्मेदवार छन्। समानुपातिकतर्फबाट निर्वाचित हुने ११० सिटमा ३ हजार १३५ जना उम्मेदवार छन्।












