काठमाडौं। पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले सरकरा र निर्वाचन आयोगका निर्णयविपरीत गतिविधि गर्न थालेका छन्।
उम्मेदवारकै सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले गाडीको ‘रुफ टप’ प्रयोग नगर्न भनेको थियो। तर, मंगलबार झापा पुगेका लामिछानेले छतमा चढेर हात हल्लाइरहेका थिए।
गृह मन्त्रालयमा गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा जोखिम हुनसक्ने निष्कर्ष निकालिएको थियो। ‘गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर ‘रुफ टप’ गाडी प्रयोग नगर्न भनेको हो, सरकारको निर्णय पालना भए नभएको अनुगमन हुन्छ ,’ गृह प्रवक्ता काफ्लेले भने।
उम्मेदवारले निर्वाचनको प्रचारप्रसारमा धमाधम ‘रुफ टप’ गाडीको प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा खतरा औंल्याएको थियो।












