काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका सबै क्षेत्रको टिकट वितरण सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रका उम्मेदवार अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
टिकट वितरण प्रक्रियामा ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता गरिएको देखिएको छ। गत मंसिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका नेतामध्ये गोकर्ण विष्टले मात्रै टिकट पाएका छन्।
महाधिवेशनमा महासचिव पदका उम्मेदवार रहेका सुरेन्द्र पाण्डेले टिकट पाएनन्, भने उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ। सचिव पदमा प्रतिस्पर्धा गरेका विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का र इन्द्रलाल सापकोटाले पनि टिकट पाउन सकेनन्।
सचिव पदका प्रतिस्पर्धी ठाकुर गैरेको निर्वाचन क्षेत्र पाल्पा–२ बाट भने पार्टी उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन्।
त्यस्तै, पोखरेल समूहसँग आबद्ध मानिने गणेश पहाडी, झपट रावल, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम र बालकृष्ण सुवेदीले पनि यसपटक उम्मेदवारीको अवसर पाएनन्।












