काठमाडौं । विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबारे सभापति गगन थापाले निर्वाचन आयोगमा विवरण बुझाएका छन्। बिहीबार निर्वाचन आयोग पुगेर सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टी विवरण अध्यावधिक गर्न आवश्यक कागजात हस्तान्तरण गरेका हुन्।
निर्वाचन ऐनअनुसार नयाँ नेतृत्व चयनको जानकारी आयोगलाई गराइएको सभापति थापाले बताए। आयोगमा कागजात बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,’अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौँ। नयाँ केन्द्रीय कार्यसमिति गठन भएको पुष्टि हुने सम्पूर्ण कागजात बुझाएका छौँ।’
केही दिनभित्रै निर्वाचन आयोगले पार्टी विवरण अध्यावधिक गर्ने विश्वास लिएको थापाको भनाइ थियो। माघ ६ गते प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेको उल्लेख गर्दै थापाले निर्वाचन आयोगले समयमै पार्टी विवरण अध्यावधिक गर्नेमा आफूहरू विश्वस्त रहेको बताए।












