काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार साँझ सशस्त्र लुटपाट भएको छ । हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूले सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइते सुरक्षागार्डको उपचार भइरहेको छ ।
लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । यस्तै अन्य ४ जनालाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
वडा अध्यक्ष भ्लोनका अनुसार लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरिएको छ । यद्यपि, हालसम्म कति रकम बरामद भएको हो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । बरामद सवारी साधन र रकम इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ ।












