ललितपुर । ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफल क्षेत्रमा बोरामा प्याक गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान ललितपुर महानगरपालिका–१७ बस्ने, इलाम घर भएका गर्जमान थापा (८३) का रूपमा भएको छ।
परिवारका अनुसार थापा पुस २६ देखि हराइरहेका थिए र उनी हराएको विषयमा प्रहरीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दर्ता गरेको थियो। खोजतलासको क्रममा बाफल क्षेत्रमा शव इनारमा फालेको अवस्थामा भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
हत्या घटनामा संलग्न हुने आशङ्कामा प्रहरीले हालसम्म तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरीले अनुसन्धान जारी राखेका कारण थप विवरणहरू पछि सार्वजनिक गरिने जनाइएको छ।












