काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै टिप्पणी गरेका छन्। उनले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान भएको स्पष्ट पारेका छन्।
महामन्त्री पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिलाई जवाफ दिएका हुन्। आइतबार थापाले कांग्रेस “दास र लासहरूको पार्टी नबन्ने” तथा “बाहिरबाट नबोल भन्नासाथ चुप लाग्ने पार्टी नभएको” टिप्पणी गरेका थिए।
थापाको उक्त भनाइलाई लक्षित गर्दै पोखरेलले राष्ट्रहित र स्वाधीनताका विषयमा मौन बस्नु कमजोरी भएको संकेत गर्दै भूराजनीतिक दबाबका विरुद्ध आवाज उठाउनु नै स्वाभिमान र जिम्मेवार राजनीतिको परिचायक भएको उल्लेख गरेका छन्।
राजनीतिक दलहरूबीच बढ्दो वाकयुद्धका बीच दुवै नेताबीचको अभिव्यक्तिले वर्तमान राजनीतिक बहसलाई थप तातेको छ।
उनले भनेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ—
भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।’
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै सङ्कटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्’, पोखरेलले भनेका छन्,‘ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्व व्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’












