काठमाडौं । भृकुटीमण्डप – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र पुरानो पद्धति भत्किएको घोषणा गर्दै कांग्रेसलाई “जिउँदो मानिसको पार्टी” भएको बताएका छन्। शनिबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, “कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्। यहाँ कोही मालिक, कोही दास छैन, सबै बराबर छन्।”
उनले पुरानो पद्धतिअनुसार पार्टीका सदस्यलाई माथि बसेकाले तल बसेकालाई हेप्ने चलन अब अन्त्य भएको बताए। “आजबाट भत्कियो। अब कसैले पार्टीको सदस्यलाई हेप्न सक्दैन। अब तल बसेको सदस्यलाई माथि बसेकाले निहुरिएर नमस्ते गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ,” उनले भने।
थापाले विशेष महाधिवेशन नेतृत्वको लागि नभएर विचारको लागि आयोजित भएको स्पष्ट पारे। “यो पार्टीभित्रको सत्ता संघर्ष होइन, विचारको संघर्ष हो। जेनजी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन विशेष महाधिवेशन गरिएको हो। भाद्र २३ गते गैरन्यायिक हत्या भयो, २४ गते उपद्रोह पनि भयो। जेनजी रिसाएर सडकमा आएको हो। किन रिसायो? राजाको छोरा राजा हुने व्यवस्था फालेर आएको गणतन्त्रमा नेपोबेबीहरूको राजदेखेर रिसाएको हो।”
विशेष महाधिवेशनले कांग्रेसभित्रको पुरानो संरचना भत्काउँदै सदस्यको समानता र विचारको स्वतन्त्रतालाई बल दिने अपेक्षा गरिएको छ।












