काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो जिद्दि त्यागेर पार्टी एकताका लागि विगतमा कृष्णप्रसाद भट्टराई (किसुनजी)ले निभाएको भूमिका निभाउन आग्रह गरेका छन्।
कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीका चेला रहेका सभापति देउवाले गिरिजाप्रसाद कोइरालासँग देखिएको विवाद किसुनजीले समाधान गरेझैँ अहिले पार्टीभित्र देखिएको विवाद समाधान गर्न अग्रसर हुनुपर्ने बताएका हुन्।
भण्डारीले देश र प्रजातन्त्र जोगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै देशभरका कांग्रेस कार्यकर्ताले पार्टीलाई पुनः जागृत गराएको धारणा व्यक्त गरे। उनले विशेष महाधिवेशनलाई पार्टी पुनर्जागरणको अभियानको रूपमा चित्रण गरे।
नेताहरूका आसेपासेहरूले अवसर पाइरहँदा देश अघि बढ्न नसकेको टिप्पणी गर्दै भण्डारीले गलत नेतृत्वका कारण कतिपय नेताहरू हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको दाबीसमेत गरेका छन्।












