काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरू भएको छ। पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन समारोह सञ्चालन गरेका हुन्।
विशेष महाधिवेशनका लागि बिहानैदेखि नाम दर्ता प्रक्रिया सुरु भएको थियो भने उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट शक्ति प्रदर्शनका रूपमा जुलुस पनि निकालिएको थियो।
महाधिवेशनको बन्द सत्र पनि आजैबाट सुरू हुने जानकारी दिइएको छ र भोलिसम्म सञ्चालन हुनेछ। विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेका छन्।
पार्टीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरेको थियो। सोही अनुसार महामन्त्री थापा र शर्माको नेतृत्वमा महाधिवेशन आयोजना गरिएको हो। तर, पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ।












