काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० ओटा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर सवारी धनीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही सवारी वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका थिए। काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी, भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका विभिन्न स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो।
आज हस्तान्तरण गरिएका ६० ओटा सहित गत साउनयता ट्राफिक प्रहरीले कुल १८१ ओटा सवारी साधन खोजी गरी धनीलाई जिम्मा लगाइसकेको छ। यस क्रममा चोरीका १३ ओटा दुईपाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २५ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।
सवारी साधन जिम्मा पाएपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए। तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र आर्थिक वर्ष ०८१/०८२ मा ५०३ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ।
सवारी साधन चोरी तथा हराउने घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न अनुरोध गरेका छन्।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ।












