काठमाडौं । हेटौँडा सडक विस्तारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा राखिएकाे छ। आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेकाे उक्त रिट हेर्न नभ्याइनेमा राखिएकाे हाे।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
त्यस्तै, मंसिर २६ गते तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश जारी गर्दै सोसँग सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो। पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिटको पेसी तोकिए पनि हेर्न नमिल्नेमा राखिएकाे थियाे।












