काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा जारी राख्दै लगातार चौथो खेल जितेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्ले अफको सम्भावना बलियो बनाएको छ।
चार खेलमा आठ अंक जोडेको सुदूरपश्चिम अपराजित रहेको छ भने लुम्बिनीले लगातार तेस्रो हार व्यहोरेको छ र संकटमा परेको छ। लुम्बिनीले चार खेलमा जम्मा दुई अंक जोडेको छ।
लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९.४ ओभरमा १४३ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी र्शट र सुमित महर्जनले १८–१८, र गुलबदीन नैमले ११ रन जोडे।
सुदूरपश्चिमका बलरमध्ये अविनाश बोहरा र हरमित सिंहले तीन–तीन विकेट, हेमन्त धामीले दुई र स्कट कुगेलेइनले एक विकेट लिएका थिए।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर १४४ रन पूरा गर्यो। प्रमुख योगदानकर्ता विनोद भण्डारी ले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६९ रन बनाए। त्यस्तै आसिफ शेखले ३९ र क्रिस लिनले १९ रन जोडे।
यस जितसँगै सुदूरपश्चिम रोयल्सको लगातार अपराजित यात्रा जारी रह्यो र प्ले अफमा प्रवेशको राह थप बलियो भएको छ।












